नेपाल-चौतारी

EXAMPLE IS BETTER THAN PERCEIPT…..!!!

-उपप्राध्यापकले गरे श्रीमतीको हत्या

काठमाडौं, २५ पुस : भाउजूसँग यौनसम्बन्ध राख्दै आएका एक उपप्राध्यापकले घटना सार्वजनिक हुने डरले श्रीमतीको हत्या गरेको रहस्य खुलेको छ । सोही कारण पहिलो श्रीमतीबाट समेत डिभोर्स पाएका उनले दोस्रो श्रीमतीलाई १५ मंसिरमा काठमाडौं ल्याई हत्या गरेका थिए ।
महेन्द्र मोरङ क्याम्पसमा बायोलोजी विषय पढाउँदै आएका उपप्राध्यापक धीरेन्द्रलाल कर्णले मधुवन-६ सुनसरीस्थित माइती बस्दै आएकी दोस्री श्रीमती रन्जुलाई मनकामना दर्शन गर्न जाऊँ भनी गत १५ मंसिरमा काठमाडौं ल्याएका थिए । सोही रात कालीमाटीस्थित न्यु कालीमाटी गेस्टहाउसमा उनको हत्या भएको अनुसन्धानमा खुलेको छ । तर, प्रहरीले होटल-सञ्चालकको जानकारीका आधारमा १७ मंसिरमा गेस्टहाउसको कोठा नं. १०४ बाट रन्जुलाई मृत अवस्थामा फेला पारेको थियो । उनको शव सर्वांग नांगो अवस्थामा भेटिएको थियो । मृतकका साथमा पाइएको मोबाइलबाट शवको पहिचान भएको हो ।  
महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी भोला रावलले घटनाको प्रकृति र मृतकका आफन्तको किटानी जाहेरीका आधारमा कर्तव्य ज्यानमुद्दाअन्तर्गत कारबाही अघि बढाइएको बताए । ‘विराटनगरस्थित प्रहरी कार्यालयलाई पत्राचार गरेर अभियुक्तको खोजी तीव्रताका साथ गरिरहेका छौँ,’ डिएसपी रावलले नयाँ पत्रिकासँग भने ।
मृतकका आफन्तका अनुसार आरोपी कर्णले लामो समयदेखि आफ्नी भाउजूसँग यौनसम्बन्ध राख्दै आएका थिए । सोबारे थाहा पाएपछि उनले श्रीमती रन्जुलाई माइतै बस्न पठाएका थिए । दुई वर्षअघि रन्जुसँग दोस्रो बिहे गरे पनि उनीहरूको सन्तान भने भएको थिएन । कर्णले भारत विहारकी युवतीसँग पहिलो बिहे गरेका थिए । तर, भाउजूसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि पहिली श्रीमतीले कर्णसँग सम्बन्धविच्छेद गरी आफूले ल्याएको दाइजोसमेत फिर्ता लगेकी थिइन् ।
आरोपी कर्णले १५ मंसिरमा माइतै रहेकी श्रीमती रन्जुलाई उनकै मोबाइलमा फोन गरी मनकामना दर्शन गर्न जाऊँ भनी सुनसरी लौकहीचोक बोलाएका थिए । उनले श्रीमतीलाई यसबारे कसैलाई केही नभन्न र शरीरमा लगाएको लुगाबाहेक केही नलिई आउन अह्राएका थिए ।
तर, रन्जुले श्रीमान्ले मनकामना दर्शन गर्न जाने भनी बोलाएको जानकारी कान्छी बहिनीलाई सुटुक्क दिएकी थिइन् । मृतक रन्जुकी बहिनी पुनमले भनिन्, ‘दिदी बिहान ११ बजेतिर भिनाजुलाई भेट्न लौकही जाँदै छु, साँझसम्ममा र्फकन्छु भनेर जानुभएको
थियो, तर र्फकनुभएन ।’ रन्जुले श्रीमान्ले नदेख्नेगरी साथमा मोबाइल पनि बोकेकी थिइन् । मृतकको साथमा फेलापरेको सोही मोबाइलबाट प्रहरीले मृतकको पहिचान गरेको हो ।
उपप्राध्यापक कर्णले रन्जुलाई लौकहीबाट मोटरसाइकलमा राखी इटहरी पुर्‍याएका थिए । विराटनगरस्थित एयरपोर्टमा छाडेर श्रीमान् पैसा झिक्न बैंक गएको मौकामा रन्जुले भान्जा रञ्जितलाई आफ्नो मोबाइलबाट फोन गरी सो जानकारी गराएकी थिइन् । ‘म अहिले एयरपोर्टभित्र छु, तेरो मामासँग काठमाडौं जाँदै छु, उहाँ अहिले पैसा झिक्न बैंक जानुभएको छ,’ रञ्जितले माइजुसँग अन्तिम कुरा यसरी भएको बताए ।
अनुसन्धानका क्रममा आफ्नी भतिजीको हत्या भएको थाहा पाएपछि काका कौशल कर्णले महानगरीय प्रहरी वृत्त कालीमाटीमा ज्वाइँ धीरेन्द्रलालविरुद्ध किटानी जाहेरी दिएका थिए ।
‘रन्जुलाई हत्या गर्ने योजना बनाएरै काठमाडौं लगेका रहेछन्,’ मृतकका काका कौशलले भने, ‘हामीले कल्पना पनि गरेका थिएनौँ, ज्वाइँले नै छोरीको हत्या गरे ।’
रन्जुले हत्या हुनुअघि आमासँग पनि श्रीमान्को मोबाइलबाट करिब १५ सेकेन्ड कुरा गरेकी थिइन् । ‘छोरी कसैलाई नभनी कहाँ गई भनेर चिन्ता लागेको थियो, १५ गते साँझ साढे सात बजे ज्वाइँको मोबाइलबाट फोन गरी,’ रन्जुकी आमा सुचिताले भनिन्, ‘कहाँ छौ छोरी भनेर सोध्दा अहिले भन्न मिल्दैन, तपाईंहरू खाना खाएर सुत्नुहोला भनी ।’
सोही रात कर्णले रन्जुलाई तकियाले मुख छोपेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । आरोपी कर्ण १६ गते बिहान चिया खान जाने भन्दै होटलबाट बाहिरिएका थिए । तर, दुई दिनसम्म नर्फकेपछि गेस्टहाउस सञ्चालकले १७ गते प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी रावलका अनुसार रन्जुको लास नांगो र सिरकले छोपिएको अवस्थामा भेटिएको  थियो ।
उपप्राध्यापक कर्णले १५ मंसिरमा पनि क्याम्पसमा हाजिर गरेका छन् भने १६ गते पनि क्याम्पस रजिस्टरमा उनको हाजिर छ । घटना सार्वजनिक भएपछि भने उनी क्याम्पस आउन छाडेको क्याम्पस प्रशासनले जनाएको छ ।

कर्णले किन र कसरी गरे हत्या ?
साँझ काठमाडौं आइपुगेका उपप्राध्यापक कर्णले १५ गते न्यु कालीमाटी गेस्टहाउसमा जयेन्द्र देव नाम र नेपालगन्ज ठेगाना बताई श्रीमान्-श्रीमती बस्ने भनी १०४ नम्बरको कोठा चार दिनका लागि बुक गराएका थिए ।
विराटनगर-१३ तीनटोलिया निवासी धीरेन्द्रलाल कर्ण सम्पन्न परिवारका व्यक्ति हुन् । तीन दाजुभाइमध्ये उनी कान्छा हुन् । उनका एक भाइ डिएफओ र अर्का इन्जिनियर छन् ।
उपप्राध्यापक कर्णले भारतको विहार राज्यको एक गाउँकी युवतीसँग पहिलो बिहे गरेका थिए । पहिलो श्रीमतीसँग छोडपत्र भएपछि दुई वर्षअघि उनले रन्जुसँग बिहे गरेका थिए । उपप्राध्यापक कर्णको आफ्नै भाउजू रीतादेवी कर्णसँग नाजायज सम्बन्ध रहेको थाहा पाएपछि पहिली श्रीमतीले उनीसँग छोडपत्र गरेकी रन्जुकी माइती पक्षको भनाइ छ । 

आमा सुचिताको बयान
हाम्रो परिवार आर्थिक रूपले एकदमै कमजोर छ । दैनिक ज्यालामजदुरी गरेर जीविका धान्दै आए पनि छोरी रन्जुलाई आइएडसम्म पढाएका थियौँ । मधेसी समुदायमा दाइजोप्रथाले गर्दा छोरीको बिहे ठूलो समस्या हो । राम्रो घर र वर खोज्नु देवता खोजेसरह हो । साहिँलो भाइ र भतिजीले धीरेन्द्रलालको कुरा ल्याए । सम्पत्तिवान, त्यसमा पनि उपप्राध्यापक । सुशील, व्यावहारिक र जागिरे भनेर आफ्नै भाइ र भतिजीले प्रस्ताव ल्याएपछि पछि हटेनौँ । एक दिनमै कुराकानी पक्कापक्की भयो । ज्वाइँले पनि दाइजो नलिने, उल्टै विवाहमा लाग्ने खर्च करिब ७५ हजारसम्म दिने कुरा गरे । हामीले छोरीलाई पैसामा नबेच्ने भन्दै खर्च लिन अस्वीकार गर्‍यौँ र सकेजति गरगहना, दाइजो दिएर गाउँकै दुर्गा मन्दिरमा विवाह गरिदियौँ ।
ज्वाइँको त आफ्नै भाउजू रीतादेवीसँग नाजायज सम्बन्ध रहेछ । श्रीमतीसँग कहिल्यै संसर्ग नगरेकाले पहिलो श्रीमतीले छोडपत्र दिएकी रहिछ । यो हामीले छोरीको बिहेपछि मात्रै थाहा पायौँ ।
छोरीले पनि यस्तो सम्बन्धबारे थाहा पाइछे । त्यसको विरोध गरेका कारण उसलाई माइतै ल्याएर छाडिदिए । बिहे भएपछि कसको मन हुँदैन र श्रीमान्सँगै बस्ने, तर भाउजूसँगको नाजायज सम्बन्धका कारण त्यो पापीले मेरो छोरीलाई कहिले माया गरेन । भाउजूसँगको  सम्बन्ध पर्दाफास हुने डरले मेरो छोरीलाई मनकामना लैजाने बहानामा काठमाडौं पुर्‍याएर हत्या गर्‍यो ।
नैतिकताको पाठ पढाउने मान्छेले नै यस्तो अपराध गर्छ भन्ने मेरी छोरी त के कसैले पनि कल्पना गर्न सक्दैन । त्यो पापी हत्यारालाई कहिल्यै शान्ति नमिलोस् । कानुनले सजाय दिए पनि नदिए पनि त्यसलाई भगवान्ले कहिल्यै माफी दिने छैनन् ।

January 11, 2010 - Posted by | १-लेख तथा समाचार बिशेष

1 Comment »

  1. सजाय हुनै पर्छ

    Comment by TARA SHRESTHA | June 15, 2011 | Reply


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.